बालेन साहको शैलीमा वीरगञ्ज महानगर, तीन उद्योगको मुख्य गेटमा फोहर थुपारिदियो

0 Shares

काठमाडौं । वीरगञ्ज महानगरले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाही स्वरुप उद्योगहरूको मुख्य गेटमा फोहर थुपारिदिएको छ ।

नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहर राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्य गेटमा प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाही स्वरुप आइतबार फोहर खसाली दिएको बताए । “उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहर थुपारिदिएको हो”, उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहर नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए । महानगरले गत वैशाख ९ गते नदीमा फोहर मैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहर मैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।

उद्योगले फोहर व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहर मैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए ।

यसअघि काठमाडौं महानगरले सडक निर्माणको काम नगरेर प्रदूषण फैलाएको भन्दै सडक विभागको मुख्य गेटमा लगेर फोहर फालिदिएको थियो । यसपछि वीरगञ्जका मेयरले पनि यस्तै शैली अपनाएका हुन् ।

सम्बन्धित समाचार