काठमाडौं । काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिए ।
सापकोटाका अनुसार तीनै जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो । हैजा सङ्क्रमण भएको दिनदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भएर उपचार नपाए केही घण्टामै सङ्क्रमितको मृत्यु हुन सक्छ ।
यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा लाग्ने, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने रहेका छन् ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खाने कुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनुअघि र खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।