भीमेश्वरमा पसिना आउँदा संकट हुने विश्वास, विमान दुर्घटनापछि राष्ट्रपतिले गरे क्षमा पुजा

0 Shares

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पुजा गरिएको छ । दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जानविश्वास छ । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्र कालमा दरबारले पञ्चवली पठाउने चलन थियो ।

गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमा पुजा लगाउने प्रचलन छ ।

सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधिअनुसार रुद्री र होम गरिएको हो । क्षमा पुजामा ११ जना पुरोहितले लघु रुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्ति पुजा गरिएको थियो । क्षमा पुजाको सबै खर्च सरकारले ब्यहोर्ने बताइएको छ ।

दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र ९ गते पसिना आएको थियो । ९ गते नै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो । घटनामा पाइलटको सकुशल उद्धार हुँदा १८ जनाको निधन भएको थियो । भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ ।

शीलाको दाँया भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ । गत साउन ५ गते शिलाको बाँया भागबाट र ९ गते शीरबाट पसिना आएको थियो । यसअघि विं.सं. १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बाँया भागबाट पसिना आएको थियो ।

यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ । भीमेश्वर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो ।

यो पनि पढ्नुहोस्

दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना, जनतालाई अनिष्ट हुने विश्वास

 

सम्बन्धित समाचार