काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगर २९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका दुई शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार आइतबार साँझ भेटिएका ती शवको पहिचान खुलेको हो । सनाखत हुनेमा भरतपुर २२ पटिहानीका २३ वर्षीय सुदीप विक र रौतहटका १७ वर्षीय फिरोज राहुपत छन् ।
भेटिएका शवमध्ये सात वटाको सनाखत भएको छ । अन्य चार शवको सनाखत हुन बाँकी रहेको छ । आइतबार पहिचान खुलेकामा भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ का ४० वर्षीय सजाद अन्सारी, भारतकै जयप्रकाश ठाकुर, माडी नगरपालिका १ का २२ वर्षीय विकाश परियार, सर्लाही बरहथवा नगरपालिका ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको विहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह थिए ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा नारायगढ–मुग्लिन सडक खण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए ।
बसमा सवार यात्रुको पहिचान शव भेटिने क्रम जारी रहेको प्रहरी प्रमुख रिमालले बताए । घटना स्थल र यसका आसपासमा बस र यात्रुको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।