काठमाडौं । नवलपरासी (पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका ७ स्थित नारायणी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । चितवनको भरतपुर महानगर २८ स्थित नारायण नदी किनारमा एउटा शव फेला परेपछि दुई वटा शव भेटिएको हो ।
शव सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट खसेको दुई वटा बसमध्येको यात्रु हुने सक्ने आंकलन गरिएको छ । शव भेटिएको स्थान चितवनको भरतपुर महानगर २९ सिमलताल (घटनास्थल)बाट करिब २५ किलोमिटर तल रहेको छ ।
दुवै शव भर्खरका युवाको जस्तो देखिएको छ । शव भेटिएको स्थानमा इलाका प्रहरी कार्यालय गैंडाकोटको टोली पुगेको छ । यसअघि भेटिएको शव भारतीय नागरिक ऋषि पाल साहको थियो । शव मृतकका दाइले बुझिसकेका छन् ।
काठमाडौंबाट रौतहटका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुई वटा बस शुक्रबार बिहान तीन बजे चितवनको भरतपुर महानगर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहित त्रिशूलीमा बेपत्ता भएको थियो ।
दुई वटा बसमा गरी करिब चार दर्जन यात्रु रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा पाँच सयभन्दा बढी सुरक्षाकर्मीले खोजी जारी राखेको छ । शुक्रबार बिहान ३ बजे भएको घटनामा थप जानकारी पाउन सकेको छैन ।
यो पनि पढ्नुहोस्