काठमाडौं । चितवनको भरतपुर महानगर २८ मा एक भारतीय नागरिकको शव फेला परेको छ । शनिबार बिहान फेला परेको शव शुक्रबार त्रिशूली नदीले बगाएको बसको यात्रु हुन सक्ने अनुमान गरिएको छ ।
नदी किनारमा घोप्टो परेको अवस्थामा भेटिएको शव भारतीय नागरिक ऋषि साह रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
शव दुर्घटना स्थलबाट करिब ५० किलोमिटर पश्चिम नारायणी नदीमा फेला परेको हो । घटनामा सात भारतीय यात्रुसमेत रहेको प्रहरीले जनाएको थियो ।
शवको साथमा रहेको रासन कार्डको आधारमा शव पहिचान भएको हो । शव त्रिशूलीमा खसेको बसका यात्रु हुन सक्ने अनुमान गरिए पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको बस भरतपुर महानगर २९ सिमलताल त्रिशूली नदीमा खसेको थियो ।
घटनामा पाँच सयभन्दा बढी सुरक्षाकर्मीसहित टोलीले खोजी गरिरहेका छन् । तर, केही थान कपडाबाहेक केही फेला पार्न सकेको छैन । खोजी कार्य जारी रहेको छ ।