काठमाडौँ । उपत्यकावासीले अब केहि समय मेलम्चीको पानी पिउन नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको हो ।
मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिएको भन्दै आयोजना बन्द गर्न लागिएको हो ।अब वर्षा कम भएपछि आयोजना पुनः सञ्चालन हुनेछ । मनसुन सकिएपछि मात्रै काठमाडौं उपत्यकावासीले फेरि मेलम्चीको पानी पाउनेछन् ।
मेलम्ची नदीमा बाढीसँगै पानी धमिलिन थालेको बताउँदै आयोजनाको संरचनालाई सुरक्षित गर्न सोमबारदेखि बन्द गर्न लागिएको हो । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन आयोजना सञ्चालनमा राखेको तर नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्ने निर्णय गरेको बताए ।
गत शुक्रबार समितिले मेलम्ची बन्द गर्ने तयारी गरेको थियो तर नदीमा पानीको बहाव नबढेको भन्दै आयोजना सञ्चालन गरिएको हो। निर्देशक रत्न लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैङ्क (एडिबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिइरहेका छन् ।
पटकपटक मेलम्ची बन्द गर्ने तयारी गरे पनि हालसम्म बन्द नगरिएको र पानी धमिलिन थालेपछि आजदेखि बन्द गर्न लागेको उनले जानकारी दिए । उनका अनुसार समितिले मनसुन अवधिमा विपत्तिको जोखिम कम भए मात्रै मेलम्चीको पानी पठाउन पुनः सुरु गर्ने तयारी गरेको छ ।
गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने बताइएको थियो । तर ठूलो वर्षा नहुँदा पानीको आपूर्ति बन्द गरिएको थिएन ।