काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ ।
चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ ।
दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने परम्परा छ । घरघरमा दीपमालिका गरेर पर्व प्रारम्भ गरिन्छ । धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन छ ।
आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्ग समितिले जनाएको छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।
पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ ।