काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो। प्रस्तावित बोनस सेयर र नगद लाभांशमा लाग्ने करसमेत समेटेर लाभांश वितरण गरिने बैंकले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण र अनुसूचीहरू पनि पारित गरेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ। साधारणसभामा पेस भएका अन्य प्रस्तावहरू पनि पारित भएका छन्। हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा छ। साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ।