बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ सभा सम्पन्न, मौलिक अधिकार सुनिश्चित गर्न माग

0 Shares

दाङ । बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौँ साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन संस्थाका सचिव यादवप्रसाद शर्माले गरेका थिए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख प्रकाश जग साह प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

यस्तै, वडाध्यक्ष रामप्रसाद चौधरी र राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष एवं घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसीको पनि उपस्थिति रहेको थियो ।

सभामा लेखा संयोजक प्रकाशचन्द्र घिमिरे, सल्लाहकारहरू बसन्तराज अधिकारी, फर्साराम नेपाली, नारायण राना, दानमाया शाही, खिमा अधिकारी र जयन्ता सिंह तामाङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रकाश जग साहले जिल्लामा खानेपानी व्यवस्थापनका क्षेत्रमा बजेट अभाव र जनशक्ति कमीका कारण समस्या देखिएको बताए । उनले दाङ जिल्लामा खानेपानीको गुणस्तर सुधारका विषयमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, विशिष्ट अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष ओलीले सरकारले खानेपानी क्षेत्रलाई प्राथमिकतामा नराख्दा नागरिकको मौलिक अधिकार प्रभावित भएको बताए ।

सरकारले बजेट विनियोजन गर्दा खानेपानी क्षेत्रका लागि दुई प्रतिशत बजेटसमेत नछुट्याएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

ओलीले विद्युत् महसुलमा समेत उपभोक्ताले २० देखि ३९ प्रतिशतसम्म योगदान गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै खानेपानी क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराए । उनले उपभोक्ता समितिको खारेजी तथा उद्घाटनसम्बन्धी कानुनी व्यवस्थाप्रति पनि विरोध जनाएका थिए ।

सभामा संस्थाका सचिव र कोषाध्यक्षको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।

सम्बन्धित समाचार