पहिरोले मुख्य राजमार्ग नै अवरुद्ध, यी स्थानमा एकतर्फी

0 Shares

काठमाडौं । बाढी पहिरोको कारण आज देशका मुख्य राजमार्ग आंशिक अरुद्ध भएका छन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको कारण भदौ १० गतेदेखि पृथ्वी राजमार्गसहित रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्ध हुँदै आएका छन् ।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गमा आज पनि पूर्ण रुपमा गाडी चल्न सकेको छैन । धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ कृष्णभिर हुँदै चल्ने गाडीहरू आज पनि रोकिने भएका छन् ।

त्यसैगरी बेनीघाट रोराङ गाउँपालिका १० स्थित ज्वाङ खोला र धादिङकै गजुरी गाउँपालिका २ चालिसेमा आज एकतर्फी मात्रै गाडी चल्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका २ चिसापानीमा पहिरो जाँदा आज पनि धादिङ-काठमाडौं सडकमा एकतर्फी मात्रै गाडी चलेका छन् । यस्तै, मुगुमा मुगु-गमगढी सडक, रोल्पामा सहिद राजमार्ग, सुर्खेतमा कर्णाली राजमार्ग र दैलेखमा पनि कर्णाली राजमार्ग आज अवरुद्ध छ ।

बीपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्डमा रातको समयमा मालबाहक र दिनमा यात्रुवाहक सवारी साधन सञ्चालन हुनेगरी पालो मिलाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार