७ वर्ष वारेन्टी भनिएको बर्जर पेन्ट्स ६ महिनामै खुईलियो, १३ लाख क्षतिपूर्ति

0 Shares

काठमाडौं । ठिमी बस्ने दीपक राज गिरीले २०७६ साल भदौ ६ गते बर्जर पेन्ट्स खरिद गरेर घरको भित्तामा लगाए । उनले दिनेश गिरी प्रोपाइटर रहेको भक्तपुरको घलातेमा रहेको फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रालिबाट सो रंग खरिद गरेका थिए ।

तर, दीपक राज गिरीले घरमा रंग लगाएको ६ देखि ८ महिनामा नै रंग पूर्णरुपमा खुईलियो । त्यसैगरी, त्यही डिलरबाट दयाराम कार्कीले २०८१ वैशाख १९ गते र सिद्धान्त श्रेष्ठले पनि २०७८ चैत १५ गते बर्जरको रंग खरिद गरेका थिए । उनीहरुले पनि घरमा लगाएको ६ महिनामा रंग खुईलियो ।

७ वर्षसम्म वारेन्टी भनिएको रंग खुईलिएपछि उनिहरु रंग खरिद गरिएको डिलर कहाँ पुगे र खुईलिएको बारेमा प्रस्ट पारे । उनीहरुले रंग बापतको रकम क्षतिपूर्ति स्वरूप मागे । तर, दिनेश गिरी प्रोपाइटर रहेको फ्रेन्डस् फरेभर ट्रेडिङ्ग प्रालिले उनीहरुलाई क्षतिपूर्ति दिएन ।

सो डिलरले उक्त पेन्ट्स उत्पादन गर्ने कम्पनीले क्षतिपूर्ति दिनुपर्ने धारणा राख्यो । डिलरले बर्जर पेन्ट्स उत्पादन गर्ने कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि समक्ष रंग खुईलिएको र क्षतिपूर्ति माग भएको विषय जानकारी गरायो । तर, उत्पादक कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालि पनि पन्छियो ।

त्यसपछि, दीपक राज गिरी, दयाराम कार्की र सिद्धान्त श्रेष्ठले क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा २०८२ माघ २६ गते मुद्दा दायर गरे । दीपक राज गिरीले १ लाख १९ हजार ९४१ रुपैयाँ ५९ पैसाको रंग खरिद गरेका थिए भने कार्कीले ७ लाख ४५ हजार ८९४ रुपैयाँ ३० पैसा र श्रेष्ठले ३ लाख ४५ हजार ८४१ रुपैयाँ ०२ पैसाको रंग खरिद गरेका थिए । उनीहरुले उक्त कुल रकम १२ लाख ११ हजार ६७६ रुपैयाँमा कानून व्यवसायीलाई दिनुपर्ने शुल्क बापतको रकम थप गरि क्षतिपूर्ति माग गरेका थिए ।

उपभोक्ता अदालतले उनीहरुले माग गरे बमोजिम नै १२ लाख ७८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति उत्पादक कम्पनी र डिलरले दिनुपर्ने आदेश दियो ।

जसमध्ये उत्पादक कम्पनीले १२ लाख १४ हजार ५०० र डिलरले ६३ हजार ९०० रुपैयाँ क्षतिपूर्ति स्वरूप भुक्तानी दिनुपर्ने उपभोक्ता अदालतले आदेश दियो ।

उक्त आदेश अनुसार दीपक राज गिरीले २ लाख ४६ हजार १०० रुपैयाँ, श्रेष्ठले ६ लाख ३४ हजार ८०० र कार्कीले २ लाख ९७ हजार ५०० रुपैयाँ पाउने छन् । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ७(१)(च) तथा दफा ११ बमोजिम अदालतले उक्त आदेश दिएको हो ।

उत्पादक कम्पनीले उक्त पेन्ट्स ७ देखि १० वर्षसम्म टिक्छ भनेर विज्ञापन समेत गरेको पाइएको छ । यसरी झुटा विज्ञापन पनि गर्न नहुने अदालतको जिकिर छ ।

सम्बन्धित समाचार