नाइमा एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’

0 Shares

काठमाडौं। भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदै छ । तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन् ।

शनिबार एकै दिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन्। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।

एक्स्पो अवलोकन गर्नेहरुको भीड शनिबार अनपेक्षित बढेपछि पार्किङ व्यवस्थापनमा समेत हम्मे-हम्मे परेको थियो । भृकुटीमण्डपभित्रका सबै खालि जग्गा, नेपाल पुलिस क्लबको दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका स्थलमा पार्किङको व्यवस्थापन गर्दा पनि अवलोकनकर्तालाई सहज भएको थिएन ।

पटक-पटक भइरहेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता भृकुटीमण्डप पुगिरहेका थिए । ‘पानीले निकैबेर डिस्टर्ब गर्‍यो,’ काठमाडौं सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले भने, ‘यहाँ आइपुग्दा खुट्टा टेक्नै नपाउने गरी भीड लागेको रहेछ, मैले पनि एउटा स्कुर बुक गरेँ ।’ उनीसँगै आएका संघका सहसचिव अभिषेक शाक्यले पनि विगत वर्षको मेलामा भन्दा यसपटक धेरै नै मानिस आएको अनुभव सुनाए ।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए । ‘मेला पूर्ण रुपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन,’ उनले भने, ‘हाम्रो लक्ष्य पूरा भइसकेको छ, एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु ।’

एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथोँ दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरुले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले अवलोकनकर्ताको व्यापक उपस्थितिले मेलालाई सफल बनाएको बताइन् । पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरीषकुमार मुरारकाले पनि ठूलो संख्यामा अवलोकनकर्तालाई आकर्षित गर्न सक्नु नाइमाको सफलत भएको धारणा राखे ।

विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको छ । दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ । नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरुले बताएका छन् । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टीरग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् ।

कम्पनीहरुले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। पाँचौँ दिनमा पनि एउटा सवारीसाधन लन्च गरिएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको हो ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ ।

सम्बन्धित समाचार