एभरेष्ट कलरको आईपीओ बाँडफाँड, भाग्यमानी ६५ हजार ५७० जनाले पाए सेयर

0 Shares

काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहीबार बिहान रीतपूर्वक सेयर बाँडफाँड गरिएको हो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत गरिएको बाँडफाँडमा कुल ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीले गत जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म आम सर्वसाधारणका लागि ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको कुल ६ लाख ५५ हजार ७०० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत वैशाख २ गते कम्पनीलाई सर्वसाधारणमा आईपीओ जारी गर्न अन्तिम अनुमति प्रदान गरेको थियो । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओको अन्तिम नतिजा केही समयपछि सिडिएस एन्ड क्लियरिङको आधिकारिक आईपिओ पोर्टल, मुक्तिनाथ क्यापिटल र एभरेष्ट कलरको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

वि.सं. २०६८ सालमा स्थापना भएको एभरेष्ट कलर लिमिटेडले लामो समयदेखि नेपाली बजारमा आधुनिक प्रविधियुक्त रङ (पेन्ट्स) उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले हाल घरेलु तथा व्यावसायिक प्रयोजनका लागि विभिन्न गुणस्तर र प्रकारका बाह्य (Exterior) तथा आन्तरिक (Interior) इमल्सन पेन्ट्स, प्राइमर्स, इनामेल पेन्ट्स, काठ र धातुमा लगाउने प्राइमर्स, एक्रेलिक डिस्टेम्पर, आल्मुनियम पेन्ट्स, वाल पुटिङ तथा औद्योगिक पेन्ट्सहरू उत्पादन गर्दै आएको छ ।

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै आएको यस कम्पनीले आईपीओ मार्फत पुँजी सङ्कलन गरी आगामी दिनमा आफ्नो उत्पादन क्षमता र बजार विस्तारलाई अझ व्यापक बनाउने योजना राखेको छ ।

सम्बन्धित समाचार