काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डकी छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गर्दै त्यसलाई पूर्ण रूपमा खारेज गरेकी छन्।
उनले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाउँदै नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छन्। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेकी छन्।
दाहालले आफ्नो भाइ प्रकाश दाहालको निधनपछि पार्टीकै निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नगरी पार्टी र नेतृत्वको हितमा आफूले समय, ऊर्जा र क्षमता समर्पित गरेको बताएकी छन्।