सशस्त्र प्रहरीले भन्यो- मल आयात गर्दा सिमानाकामा कुनै अवरोध हुँदैन

0 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताएका छन्।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले मल आयातमा सहजीकरण गरिएको बताए।

उनले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट ९बीओपी०लाई निर्देशन दिएको जानकारी दिए। उनले सिमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गरे।

उनले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताए।

मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उनको भनाई छ। उनले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताए। किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उनको दाबी छ।

उनले भने, ‘यो साल हामीले मल आयातमा नरोक्नेगरी निर्देशन दिएका छौँ। मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला हामी तत्काल कारबाही गर्नेछौँ। नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ। खुला सीमाना १ हजार ८४८ किलोमिटर सिमाना खुला हुँदाखेरी जताततैबाट हिँड्नसक्ने हुँदा सबै ठाउँमा हाम्रो जनशक्ति पुग्दैन। त्यसको फाइदा उठाएर मल भनेर अरु चीज आयात हुने गरेको पाईन्छ। मलको बोरामा चिनी ल्याउने तथा अरु तस्करी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नको लागी हामीले आकस्मिक कार्यहरू गरिरहेका छौँ। मलको आयातमा भने कडाई गरिएको छैन।’

समितिको बैठकमा सांसदहरूले सीमा सुरक्षा पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गरेका थिए।

सम्बन्धित समाचार