सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट अनिवार्य : नियम मिचे सोझै उजुरी गर्न सरकारको निर्देशन

0 Shares

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूले पाउँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा कडाइका साथ लागू गर्न निर्देशन दिएको छ । विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई पत्राचार गर्दै कानुन बमोजिमको सहुलियत तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।

सरकार र यातायात व्यवसायीबीच २०६५ फागुन २० गते भएको सहमति अनुसार विद्यार्थीले परिचयपत्रका आधारमा ४५ प्रतिशत छुट पाउने व्यवस्था छ ।

गुनासो बढेपछि एक्सनमा विभाग

पछिल्लो समय सरकारको ‘हेलो सरकार’ पोर्टल र विभागको ‘गुनासो पेटिका’ मा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको र व्यवसायीले दुर्व्यवहार गरेको भन्दै ठुलो संख्यामा उजुरी परेपछि विभागले यस्तो कडा कदम चालेको हो ।

विभागका निर्देशक गणेशमान सिंह राईद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, “विद्यार्थीलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिनु व्यवसायीको दायित्व हो । सहुलियत उपलब्ध नगराइएका गुनासा आएकाले यसलाई तत्काल कार्यान्वयन गर्न र विद्यार्थीहरूसँग मर्यादित व्यवहार गर्न निर्देशानुसार अनुरोध गरिन्छ ।”

छुटपछि अब न्यूनतम भाडा कति ?

हालको भाडादर अनुसार ५ किलोमिटरसम्मको न्यूनतम साधारण भाडा २५ रुपैयाँ तोकिएको छ। यसमा विद्यार्थीले पाउने ४५ प्रतिशत छुटको हिसाब निम्न बमोजिम हुन्छ:-

साधारण न्यूनतम भाडा: २५ रुपैयाँ

विद्यार्थी छुट ९४५५०: ११ रुपैयाँ २५ पैसा

छुटपछिको वास्तविक भाडा:  १३ रुपैयाँ ७५ पैसा

व्यवहारमा पैसा (सिक्का) को अभावका कारण विद्यार्थीले न्यूनतम १४ रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

कहाँ गर्ने उजुरी ?

यदि कुनै सवारी साधनले विद्यार्थी परिचयपत्र स्वीकार नगरेमा वा छुट नदिएमा विद्यार्थीहरूले सोझै हेलो सरकार ९११११०, ट्राफिक प्रहरी ९१०३० वा यातायात व्यवस्था विभागको आधिकारिक वेबसाइट र गुनासो पेटिकामा सवारी नम्बरसहित उजुरी गर्न सक्नेछन् ।

सम्बन्धित समाचार