बालेन सरकारका मन्त्रीको सम्पत्तिमाथि चर्चा, गृहमन्त्रीले भनेः गरिब भएर मर्नु तिम्रो गल्ती हो

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सरकारका मन्त्रीहरुले १६ दिनपछि आइबार सम्पत्ति सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसहित १६ जना मन्त्रीले आआफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।

बालेन सरकारका मन्त्रीको सुन र घर जग्गामा देखिएको सम्पत्ति देखेर सबै चकित भएका छन् । प्रधानमन्त्री बालेनसँग कुल १९० तोला सुन मात्रै भएको सार्वजनिक गरेका छन् । आजको सुनको मूल्यअनुसार बालेनको सुन पाँच करोड ६४ लाख ३० हजार रहेको छ ।

महोत्तरीको तराईमा ९ विघा जग्गा काठमाडौंमा पाँच आना बनेको आलिसान घर भएको सार्वजनिक गरेका छन् । अरु भौतिक सम्पत्ति र नगद बालेनको यसअघि भएका प्रधानमन्त्रीसँग तुलना गर्न नसकिने रहेको चर्चा चल्न थालेको छ ।

सामाजिक सञ्जालबाट कमाएको एक करोड ४६ लाख रुपैयाँ बैंक ब्यालेन्स भएको सार्वजनिक गरेका बालेन अहिलेसम्मकै धनी प्रधानमन्त्रीको रुपमा देखिएका छन् । सबैभन्दा गरिब प्रधानमन्त्रीको रुपमा कृष्णप्रसाद भट्टराई, सुशील कोइरालालाई लिने गरिन्छ ।

बहुदल आएपछि बनेका गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, खिलराज रेग्मी, सुशीला कार्कीभन्दा धनी प्रधानमन्त्रीको रुपमा बालेन नाम दर्ज भएको छ ।

अर्का धनी अर्थमन्त्रीको रुपमा स्वार्णिम वाग्ले रहेका छन् । विश्वविख्यात अर्थशास्त्रीका रुपमा काम गरेका वाग्लेसँग ४५ तोला सुन भएको सार्वजनिक गरेका छन् । काठमाडौं, काभ्रे र तनहुँमा १२ करोड ७५ लाखमा आलिसान घर जग्गा खरिद गरेको र चितवन, गोरखा र तनहुँमा १ करोड ४० लाखमा खरिद गरेको १७ रोपनी र ५ कठ्ठा जग्गा भएको खुलाएका छन् ।

यस्तै, गृहमन्त्री सुदन गुरुङसँग ८९ तोला सुन, ४ करोड ३१ लाखको सेयर भएको सार्वजनिक गरेका छन् । उनको सम्पत्तिबारे चर्चा सुरु भएसँगै उनले गरिब भएर बाँच्नु कसैको गल्ती नभएको प्रतिक्रिया दिएका छन् ।

आफूमाथि प्रश्न उठेपछि गुरुङले सामाजिक सञ्जालबाट जवाफ दिँदै भने, ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो ।’

अरु मन्त्रीको पनि सम्पत्तीमा सुन र जग्गा अचाक्ली देखिएपछि नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले मन्त्रीहरुकै सम्पत्ति वितरणले देश लंका बनिसकेको कटाक्ष गरेका छन् । उनले डाँडाभरि लालीगुरास फुले जस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै सुनको विवरणमा कटाक्ष गरेका हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन् । उनले भनेका छन्, ‘सम्पत्तिको विवरण त आयो तर अब स्रोत पनि आउनुपर्छ ।’

उनले लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्ट्याइदिनु पर्छ ।’ बालेन सरकारका मन्त्रीको सम्पत्तीको विषयलाई लिएर नेता, कार्यकर्ता, लेखक, साहित्यकार, पत्रकार सबैले अचम्म मान्दै स्रोत खुलाउनुपर्ने बताउन थालेका छन् । प्रधानमन्त्रीदेखि लिएर मन्त्रीले सुन र जग्गामा देखाएको मोहलाई लिएर जनता समेत चकित गरेका छन् ।

सम्बन्धित समाचार