काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवारालई सघाउने निर्णय गरेको छ । सभामुखमा रास्वपाबाट डोलप्रसाद अर्याल भएपछि उपसभामुख एउटै दलबाट हुन नपाउने भएपछि रास्वपाले राप्रपाको उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।
रास्वपाले आफूलाई नयाँ र युवाहरुको पार्टी दाबी गर्ने भएकाले श्रम संस्कृति पार्टीका कुनै उम्मेदवारलाई सघाएर उपसभामुख बनाउने आकलन थियो । त्यसो नभए जेनजी आन्दोलनमा प्रतिपक्षमै भएकाले नेपाली कम्युनिस्ट पार्टीबाट हुने उम्मेदवारलाई रास्वपाले सघाउने धेरैको आकलन थियो ।
त्यस आकलनको ठिक विपरित गएर रास्वपाले राजनीतिक रुपमा पश्चगामी मानिने राप्रपाको उम्मेदवारलाई समर्थन गर्ने भएपछि धेरै राजनीतिक वृत्तका व्यक्तिहरु चकित परेका छन् । राप्रपाले उपसभामुखमा सरस्वती तामाङलाई उम्मेदवार बनाउने निर्णय गरी सकेको छ ।
राजनीतिक रुपमा अग्रगामी मुद्धा बोक्ने रास्वपा राप्रपाको उम्मेदवारलाई सघाएपछि धेरैले प्रश्न गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको पहिरणलाई धेरैले राजा महेन्द्र शाहसँग तुलना गर्ने गरेका छन् । महेन्द्रकै शैलीमा दौरासुरुवाल, टोपी र चस्मा बालेनले लगाउने गरेका छन् । जसका कारण बालेन आफैले समेत आफूलाई राजा महेन्द्रसँग दाज्ने गरेको बताएको छ ।