काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन्। पक्राउ परेको तेह्रौँ दिनपछि बिहीबार बिहान हाजिरी जमानीमा रिहा भएपछि ओलीले सामाजिक सञ्जालमार्फत आफू छुटेको जानकारी गराएका हुन्।
यद्यपि उपचार जारी नै रहेकाले आफू अझै केही दिन त्रिवि शिक्षण अस्पतालमै रहने जानकारी पनि उनले गराएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु।’
उनले अगाडि लेखेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी गराउँदै यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्नुहुने पार्टीका समग्र नेता कार्यकर्ता एवं समस्त शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु।’