काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद(डिपी) अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।
सभामुखका लागि आज बिहान ११ देखि अपराह्न २ बजेसम्म सङ्घीय संसद् सचिवालयको काठघर नं १ मा उम्मेदवारी दर्ता गर्न सकिनेछ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको दर्ता क्रमानुसार आजै अपराह्न २ः३० बजे सार्वजनिक गरिने सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
अब आगामी आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
यस्तै उपसभामुख फरक दल वा लिङ्गलाई बनाउने व्यवस्था छ । रास्वपाले सभामुख लिएपछि श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नेपाली कम्युनिस्ट पार्टीमध्ये एक पार्टीले लिने सम्भावना देखिएको छ । यी दलहरुमध्ये नयाँ दलको रुपमा उदाएको श्रम संस्कृति पार्टीलाई रास्वपाले दिन सक्ने आकलन गरिएको छ ।
यद्यपि अहिलेसम्म रास्वपाले उपसभामुख कसलाई दिने भन्ने विषयमा कुनै टुंगो लगाएको छैन ।