काठमाडौं । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझेका छन् । परिवारका अनुसार उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनसम्म प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।
मंलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो ।अदालतको आदेशपछि परिवार इनिसाको शव बुझेका हुन् ।
गुर्भाकोट ६, बडाखोली स्थायी घर भएकी १६ वर्षीया इनिसा वीरेन्द्रनगर १ मा बस्दै आएकी थिइन् । वीरेन्द्रनगरकै उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी गत फागुन २३ गते बिहान पढ्न जाने भन्दै घरबाट निस्केकी थिइन् ।
सोही दिन बिहान ९ बजे वीरेन्द्रनगर–४ मा रहेको शहीद पार्क नजिकै जङ्गलमा अचेत अवस्थामा फेला परेकी थिइन् । लगतै प्रहरीले प्रदेश अस्पताल कालागाउँ पुर्याय पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही घटनामा प्रहरीले चार जना युवकलाई नियन्त्रणमा दिएको थियो । प्रारम्भिक रूपमा घटना शंकास्पद देखिएपछि बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाइएको थियो ।