सुनसरी । जिल्ला प्रहरी कार्यालयले यहाँका दुई सरकारी कार्यालयबाट आज १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीलाई दुःख, हैरानी दिएको सूचनाका आधारमा सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला मालपोत कार्यालय तथा इटहरीस्थित यातायात व्यवस्था कार्यालयबाट १७ जना बिचौलियालाई नियन्त्रणमा लिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।
मालपोत कार्यालय परिसरबाट सेवाग्राहीको काम छिटोछरितो गरिदिने बहानामा बिचौलियाको काम गरिरहेका १३ जनालाई नियन्त्रणमा लिइएको र यातायात कार्यालयबाट चार जना गरेर १७ जनालाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिए ।
मालपोत कार्यालय सुनसरीबाट पक्राउ पर्नेमा रामधुनी नगरपालिका ९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी ५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी उपमहानगरपालिका ५ की २७ वर्षीय अर्चना आचार्य, इटहरी ५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा ३ की ३२ वर्षीय आयसा मोते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, इनरुवा २ का २४ वर्षीय मिलन मेहता, इनरुवा ६ का ५२ वर्षीय मेघराज फुयाँल, इनरुवा ८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा २ का ३५ वर्षीय असिप आचार्य, इनरुवा ६ का ४९ वर्षीय रोशन विक, इनरुवा १ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षीय एकरारआलम मन्सुरी र भोक्राहा नरसिंह १ का २६ वर्षीय सर्ताजआलम मन्सुरी रहेको प्रहरी उपरीक्षक थेबेले बताए ।
यस्तै, यातायात कार्यालयबाट इटहरी ४ का २७ वर्षीय सुमन ओझा, इटहरी १० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी ४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी ४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको छ ।