काठमाडौं । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले आइतबार चार जनाविरुद्ध अभियोग पत्र दर्ता गरेको छ।
प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको चार दिनमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्र दर्तासँगै सोमबारदेखि नै अभियुक्तहरूको बयान हुने जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए।
‘अभियोगपत्र दर्ता भएको छ। सोमबारदेखि नै बयान सुरू हुन्छ,’ उनले भने।
सरकारी वकिल कार्यालयले इनिशामाथि सामूहिक बलात्कार भएको र सोही अनुसार कारबाही माग दाबी गरेको छ।
प्रहरीले सामूहिक नभई एक जनाले मात्रै करणी गरेको मुख्य अभियुक्तलाई जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्म कैदको मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो। बाँकी तीन जनालाई ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको थियो।
मृतकको डिएनए रिपोर्ट, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक रिपोर्ट र टक्सिकोलोजी सम्बन्धी रिपोर्ट आइ नपुग्दै प्रहरीले इनिशा सम्बन्धि आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
सरकारी वकिल कार्यलयले भने शवको प्रकृति, पोस्टमर्टम रिपोर्ट, सिआइबीको अनुसन्धानबाट खुलेका विषय, वारदातस्थल, पीडित र पीडक पक्षका बयानका आधारमा सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै सोही अनुसारको मुद्दा दर्ता गरेको हो।
सरकारी वकिल कार्यालयको अभियोगपत्रमा मुख्य अभियुक्तले इनिशालाई प्रेम जालमा पारी ललाई फकाइ वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वनमा लिएर गएको र आफ्ना थप तीन साथीहरूलाई फोन गरेर बोलाएको उल्लेख छ।
‘सबै जना बालकहरू मिलि मृतक नाबालिकालाई सामूहिक रूपमा जबरजस्तीकरणी गरी सो करणीको कारणबाट मृतकको योनीबाट अत्यधिक रक्तश्राव भई सोही कारण मृत्यु भएको देखिई यी कानुनको विवादमा परेका बालकहरूले मृतकलाई सामूहिक रूपमा जबरजस्तीकरणी गरी कर्तव्य गरी मारेको देखिएको’ अभियोगपत्रमा भनिएको छ।
पक्राउ परेका बालकहरूले सोधपुछका क्रममा साथीले फोन गरी सहयोगका लागि बोलाएको भन्ने बयान दिए पनि प्रमाणबाट पुष्टि नभएको सरकारी वकिल कार्यालयको भनाइ छ।
उनीहरू घटना हुँदा चारै जना सँगै रहेको देखिएको उल्लेख छ। साथै मृतकको ढाड र खुट्टामा खरोजहरू देखिएको अभियोगपत्रमा उल्लेख छ।