काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनसँग सम्बन्धित आरोपमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
शनिबार सार्वजनिक बिदा परेकाले दुवै जनालाई अदालतमा उपस्थित गराउन सम्भव भएको थिएन । प्रहरीले आज अदालत खुल्नेबित्तिकै उनीहरूलाई पेश गर्ने तयारी गरेको जनाएको छ ।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि ७६ जनाको ज्यान गएको थियो । दुई हजार चार सयभन्दा बढी प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।
सो क्रममा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी कार्यालय, विभिन्न व्यापारिक प्रतिष्ठान तथा निजी घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
उक्त घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकमार्फत आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।