कांग्रेसको १५औँ महाधिवेशन गर्ने मिति प्रस्ताव, यस्तो छ कार्य तालिका

0 Shares

ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा सभापति थापाले चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्य तालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश गरेका हुन् ।

उनले पेश गरेको कार्य तालिकामा क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ ।

विं.सं. २०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यताबारे आवश्यक छानबिन गरी टुङ्ग्याउने गरी कार्य योजना तय गरिएको छ । यस्तै, असार मसान्तसम्म अध्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँ नगर अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ ।

प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ ।

त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ ।

सम्बन्धित समाचार