काठमाडौं । लागु औषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका ६ खैरबारी बस्ने ३२ वर्षीय सुमन खड्का रहेका छन्।
उनीहरूले इलाका प्रहरी कार्यालय दमकले कमल गाउँपालिका ६ गुवाबारीबाट खैरो हिरोइन सहित पक्राउ परेका लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने आश्वासन दिलाई उनका दाजु रामप्रसाद राजवंशीसँग १ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।
पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई फागुन ८ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसूरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालले जानकारी दिए।