काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नु परेको पराजयका २७ बुँदे कारण देखाउँदै सभापतिको राजीनामा अस्वीकृत गर्न प्रस्ताव राखेका छन् ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा संक्षिप्त चुनावी प्रतिवेदन प्रस्तुत गर्दै उनले नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्नपर्ने प्रस्ताव पेश गरेका हुन् ।
शर्माको प्रतिवेदनमा निर्वाचनमा पार्टीभित्रै भएको ’अन्तरघात’को उल्लेख गरिएको छ । विशेष महाधिवेशनप्रति असहमति राख्ने पक्षले रुख चिह्नका उम्मेदवारलाई नसघाउँदा जित्न सक्ने ठाउँमा पनि हार व्यहोर्नुपरेको उनको प्रतिवेदनको निष्कर्ष रहेको छ ।
सभापति थापाको राजीनामाका सम्बन्धमा शर्माले भनेका छन्, ‘विशेष महाधिवेशन भएको ५० दिनको छोटो अवधिमै दिग्विजयको परिणाम खोज्नु न्यायपूर्ण हुँदैन, प्रतिकूलता चिरेर पार्टीलाई सम्हाल्ने जिम्मेवारी सभापतिकै हो, त्यसैले उहाँको राजीनामा अस्वीकृत गरिनुपर्छ ।’
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा दोस्रो दल बनेको कांग्रेसले जम्मा ३८ सिट पाएको छ । पहिलो हुने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १८२ सिट ल्याउँदै सरकारको नेतृत्व गर्ने भएको छ ।