इरान युद्धमा फसेका ट्रम्प संकटमा, अमेरिकामाथि हाबी हुँदै चीन

0 Shares

काठामडौं । मध्यपूर्व युद्धले अमेरिकी कूटनीतिक समीकरण हल्लाइरहेका बेला प्रस्तावित अमेरिका-चीन शिखर सम्मेलनमा शक्ति सन्तुलन बेइजिङतर्फ झुक्ने संकेत देखिएको छ ।

विश्लेषकका अनुसार इरान-इजरायल द्वन्द्वमा फसेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कमजोर स्थितिमा पुगेका छन् । यसले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई वार्तामा थप लाभ लिन सक्ने अवस्था बनाएको छ ।

यसै महिनाको अन्त्यतिर बेइजिङ भ्रमण गर्ने तय भए पनि मध्यपूर्वको बिग्रँदो परिस्थितिका कारण ट्रम्पले आफ्नो यात्रा केही हप्ताका लागि स्थगित गरेका छन् । इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने निर्णयपछि क्षेत्रीय हिंसा चर्किएको, ऊर्जा मूल्य उच्च विन्दुमा पुगेको र इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रुपमा बन्द गरेपछि विश्वव्यापी आपूर्ति अवरोधको जोखिम बढेको पृष्ठभूमिमा उनको कूटनीतिक विकल्प सीमित बन्दै गएको विश्लेषण गरिएको छ ।

युद्धको अन्त्य कसरी गर्ने भन्ने स्पष्ट रणनीति तय गर्न कठिनाइ भइरहेका बेला परम्परागत सहयोगीबाट पनि अपेक्षित समर्थन नपाउँदा ट्रम्प चीनसँग कूटनीतिक उपलब्धि खोज्न बाध्य हुन सक्ने आंकलन छ ।

अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका वरिष्ठ सल्लाहकार अली विनले अमेरिकी शक्ति प्रदर्शन उल्टै असर पार्दै ‘अमेरिकी सर्वशक्तिको भ्रम कमजोर बनाएको’ टिप्पणी गरे । उनका अनुसार होर्मुज जलडमरुमध्य पुनः खोल्न एक्लै असमर्थ अमेरिकालाई अहिले आफ्नै प्रतिद्वन्द्वी चीनको सहयोग आवश्यक परेको छ ।

मंगलबार ट्रम्पले आफू ‘पाँच वा छ हप्ताभित्र’ चीन जाने अपेक्षा गरेको बताएका थिए । सम्भावित शिखर सम्मेलनको मुख्य उद्देश्य अघिल्लो अक्टोबरमा दक्षिण कोरियामा भएको भेटमा सहमति भएको भन्सार शुल्क युद्ध विरामलाई औपचारिक रुप दिने मानिएको छ ।

तर, वर्तमान कमजोर अवस्थाले अमेरिकालाई गहिरो कर कटौती वा महत्त्वपूर्ण खनिज पहुँचजस्ता विषयमा कडा अडान लिन कठिन हुने देखिएको छ ।

बेइजिङले होर्मुज जलडमरुमध्य पुनः सञ्चालनमा ल्याउन अमेरिकाको आग्रहलाई हालसम्म चीनले बेवास्ता गरेको छ । यस्तै, दुर्लभ पृथ्वी खनिज निर्यातमा कडाइ पनि यथावत् राखेको छ । यी खनिज अमेरिकी रक्षा उद्योगका लागि अत्यावश्यक मानिन्छन् ।

सिंगापुरको नेसनल युनिभर्सिटीका जेसन बेडफोर्डका अनुसार केही ‘भारी’ दुर्लभ पृथ्वी तत्त्वहरू ड्रोन, जेट, मिसाइल प्रणाली र राडारमा प्रयोग हुने भएकाले तिनको आपूर्ति नियन्त्रणले अमेरिकी सैन्य उत्पादनमै असर पार्न सक्छ ।

अमेरिकाको आन्तरिक राजनीतिमा पनि यस संकटको प्रभाव देखिन सक्ने संकेत गरिएको छ । चीनले कृषि उत्पादन खरिद जस्ता विषयलाई वार्तामा दबाबका रुपमा प्रयोग गर्न सक्ने बताउँदै विश्लेषकले रिपब्लिकन दलका लागि महत्त्वपूर्ण मध्यावधि निर्वाचनमा यसको असर पर्न सक्ने बताएका छन् ।

फुदान विश्वविद्यालयका वु सिन्बोले चीनसँग सम्बन्ध स्थिर राख्न नसक्दा अमेरिकाले थप चुनौती सामना गर्नुपर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार