चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

0 Shares

चितवन । गत वर्षको तुलनामा यो वर्ष राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालू आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिए । यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए । यो संख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो ।

यस्तै, सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो ।

निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्जले चालू आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व संकलन गरेको छ ।

सम्बन्धित समाचार