काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागू औषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बैंककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमन कक्षबाट पक्राउ गरिएको हो ।
यसैगरी, काठमाडौं महानगर ३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका ६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका ७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका १ त्रिशुलीबाट पाँच जना, पोखरा नगरपालिका २७ सैनिक बस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।
बाँकेको कोहलपुर नगरपालिका १५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ बाट एक जना र दाङको घोराही उपमहानगर १८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ ।
उक्त समाचारकक्षका अनुसार उनीहरुलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ।