पर्सा। जिल्लाको पर्सागढी नगरपालिकामा आफ्नै एक पुरुषले पत्नीमाथि अमानवीय हिंसा गरेको आरोप लागेको छ । पर्सागढी नगरपालिका ३ विरुवा टोल बस्ने ३० वर्षे सहनीले गत १ गते पत्नी हरिकलादेवी सहनीको धारिलो हतियार ‘दाउ’ प्रयोग गरी बायाँ खुट्टाको पैतालाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएको आरोप लागेको हो ।
तर, प्रहरीले घटनाको चार दिन बित्दासमेत आरोपित विशनाथ सहनीलाई पक्राउ गर्न सकेको छैन । पर्सा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यबाट निर्वाचित सांसद सुशीलकुमार कानुले गम्भीर घाइते भएकी सहनीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका छन् ।
‘गम्भीर घाइते हरिकलाको आर्थिक अवस्था पनि कमजोर भएकाले उपचार र कुरुवाका लागि लाग्ने खर्चकोसमेत प्रबन्ध गर्ने छौँ,’ उनले भने, ‘पीडित परिवारले उपचार खर्च र दोषीमाथि कारबाहीको माग गरेकाले पनि यहाँको स्थानीय प्रहरी प्रशासनलाई पनि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउनको लागि अनुरोध गर्दछु ।’
पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले अभियुक्त सहनीको खोजी तीव्र पारिएको बताए । ‘अभियुक्त जङ्गलतर्फ फरार भएको सूचनाको आधारमा खोजी तीव्र पारिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म पक्राउ परिसकेका छैनन् ।’ उनका अनुसार घाइते महिलाको हाल बारास्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।