चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीमध्ये एक सय जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक छन् ।
यस कारागारबाट भदौ २४ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४३ जना फर्किसकेका छन् । कतिपय आफैँ फर्किएका हुन् भने केहीलाई प्रहरीले पक्राउ गरी ल्याएको हो ।
कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुंगानाका अनुसार गम्भीर प्रकृतिका कैदीबन्दीसमेत फरार हुँदा समुदायमा आपाराधिक घटना हुनसक्ने चिन्ता छ ।
कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।
फरार कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यत्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने छ । हाल कारागारमा ३८ जना महिलासहित ६८५ जना कैदीबन्दी छन् ।