काठमाडौं । नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बूढानीलकण्ठ नगरपालिका ८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बंगलादेशी नागरिकलाई बंगलादेशबाट काठमाडौं बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बंगलादेश घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक छन् ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बंगलादेशी नागरिकलाई घरमा बन्धक बनाइ ठगी गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका सातै जनालाई जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।