काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले बुधबार मध्यरातसम्म आफ्नै पार्टी निर्माण गर्ने गरी छलफल सुरु गरेका छन् ।
ललितपुरको कुपन्डोलस्थित कुमार बेन (व्यञ्जनकार)को घरमा बालेनले विभिन्न व्यक्तिहरूसँग छलफल गरेका थिए । उनको सचिवालयका अनुसार छलफलमा बालेनले प्रत्यक्ष चुनाव लड्न सक्ने सम्भावित व्यक्तिसँग भेट गरेका हुन् ।
छलफलमा सहभागी एक सदस्यका अनुसार पार्टीको नाम र चुनाव चिन्हबारे लगभग तय छ । मेयर बालेनले सहरी योजना आयोगमा सहायक विज्ञ बनाएका सन्तोष गिरीसहितको टिमले दस्ताबेज बनाइसकेका थिए ।
भेटका लागि बालेन आफ्ना साथी तथा महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साललाई सक्रिय ढङ्गले परिचालित गरेका थिए । उनले प्रत्यक्ष चुनाव लड्दा सार्वजनिक रूपमा छवि राम्रा भएका मान्छेहरू चाहिने बताउँदै छलफलमा जुटेका हुन् ।
उनीसँग भेट गर्नेमा डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल, पूर्वसचिव भीम उपाध्यायलगायत सहभागी थिए ।
यस्तै, पूर्वविवेकशील साझाका नेता मिलन पाण्डेदेखि कलाकार निश्चल बस्नेत, सञ्चारकर्मीहरू सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहियासमेत सहभागी थिए ।