खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलको आयोजना र नेपाल पाउरोटी उद्योग संघ, काठमाडौँको सहकार्यमा पुष २ गते काठमाडौं स्थित बेकरी उद्योगी व्यवसायी, उद्योग वाणिज्य महासंघका पदाधिकारी लगायत विभिन्न सरोकारवालाहरूको उपस्थितिमा लाजिम्पाट स्थित नेपाली चुलो भोजनालयमा खाद्य पदार्थको स्तर निर्धारण प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल हार्ट फाउन्डेसनका वशिष्ठ सदस्य, स्त्री क्यान्सर रोग विशेषज्ञ, लेजर थेरापी क्लिनिक, लगनखेलका नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ साथै नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर, जावलाखेलका बोर्ड डाइरेक्टर, डा। सुशिला वैद्य ज्यूले ट्रान्स फ्याटले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धी जानकारीको कार्यपत्र, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहन कृष्ण महर्जनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ सम्बन्धी जानकारीको कार्यपत्र र विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा। बाल कुमारी शर्माले खाद्य पदार्थको अनिवार्य गुणस्तरको स्तर निर्धारण प्रकृया र खाद्य पदार्थमा ट्रान्स फ्याटको अनिवार्य गुणस्तर सम्बन्धी जानकारीको कार्यपत्र प्रस्तुत गरेका छन् ।

सरोकारवालाहरू सहित विभागका कर्मचारीहरू सहित कुल ९० जनाको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा विभागका महानिर्देशकको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने विभागका उपमहानिर्देशक साथै नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमल अधिकारी, नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रलाध डाहाल, नेपाल बोतल वाटर उद्योग संघका अध्यक्ष धुर्ब गौतम लगायत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरु अरनिको राजभण्डारी , राजकुमार कार्की र आयातकर्ताका पदाधिकारीहरूको आतिथ्य रहेको थियो।

कार्यक्रममा मन्तव्यको क्रममा प्रमुख अतिथिबाट बेकरीजन्य खाद्य पदार्थमा ट्रान्स फ्याटको जोखिम न्यूनीकरण गर्नका लागि आयात बिन्दुमा नियमन साथै नेपालको परिप्रेष्यमात्र नभई अन्तर्राष्ट्रिय अभ्यासहरू समेत मनन गरि यस सम्बन्धी नियमन साथै अन्य काम कारबाही गर्नुपर्ने विषयमा जोड दिए ।

साथै, ट्रान्स फ्याट सम्बन्धी समस्या हाल नेपालमा सार्वधिक जन चासोको विषय रहेको हुँदा सम्पूर्ण सरोकारवाला निकायहरू साथै विभागले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको र यसका लागि यति मात्र नभई अझ थप गहन छलफल र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
अतिथि कमलराज अधिकारीले ऐन नियम कार्यान्वयनमा उद्योगीलाई पनि समेटेर लाग्नुपर्ने, नियम लागू गर्नु पश्चात के कति सफल असफल भएको कुरा मापन गर्नुपर्ने र हाल ट्रान्स फ्याटको समस्या प्रशोधन कार्यमा हुने त्रुटिका कारण भएको हो भने उद्योगी व्यवसायीहरूलाई सुधार गर्न लगाउनुपर्ने र सो कार्यका लागि व्यवसायीहरू सधैँ सकारात्मक रहेको टिप्पणी गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले समयानुकूल खाद्य पदार्थको गुणस्तरको सम्बन्धमा अन्तर्क्रियाहरु आवसेक रहेको र यसमा महासंघ सहयोग गर्न सधैं तयार रहेको र अनावसेक झन्जटिला अनुगमन र निरीक्षणहरु व्यवहारिक बनाउने पक्षमा रहेको मन्तव्य राखे ।

छलफलको क्रममा सहभागीहरूबाट ट्रान्स फ्याट सम्बन्धी समस्यालाई सम्बोधन गर्न उद्योगीले खेल्नुपर्ने मुख्य भूमिका नेपाल सरकारबाट निर्दिष्ट हुनुपर्ने, उपभोक्ता जनचेतना र उद्योगीलाई नियमन गर्ने कार्य समानान्तर हिसाबले अघि बढाउनुपर्ने, खाद्य स्वच्छता तथा गुणस्तर ऐन सम्बन्धी जनचेतना बढाउने किसिमका थप कार्यक्रमहरू हुनुपर्ने, आदि जस्ता राय सुझाव प्राप्त भएका थिए ।

सम्बन्धित समाचार