काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएको आयोगका एक कर्मचारीले बताए । आयोगले मंसिर १० गतेसम्म दल दर्ता गर्न समय दिएकोमा एक दिन अघि एमालेले
दल दर्ता गराएको हो ।
दल दर्तापछि विभाग प्रमुख आचार्यले एमाले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले त्यसै अनुसार दल दर्ता गरिएको बताए । प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय छ । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो ।
दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको जानकारी दिए ।