नक्कली बिल बनाएर लाखौं भ्रष्टाचार, ६ जनाविरुद्ध मुद्दा दायर

0 Shares

काठमाडौं। बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसुति केन्द्रको भवन निर्माणमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ। आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंह, इन्जिनियर, सब–इन्जिनियर तथा उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भवनको तोकिएअनुसार काम पूरा नै नगरी १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ।

सम्झौता अनुसार आल्मुनियमको झ्याल–ढोका राख्नुपर्नेमा स्थानीय काठ प्रयोग गरेको, सिमेन्टको गारो लगाउनुपर्नेमा सुख्खा ढुंगा मात्र प्रयोग गरेको र छाना तथा सिलिङको काम नै नगरी कार्य सम्पन्न प्रतिवेदन बनाएर सरकारी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

तत्कालीन कार्यालय प्रमुख सिंह, इन्जिनियर सुनेश कुमार चौरसिया, सब–इन्जिनियर नरेश रावतसहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध जनही १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरी बिगो असुल र कैद सजायको माग गरेको अख्तियारले बताएको छ।

 

सम्बन्धित समाचार