बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका ११ घट्टेपाखास्थित सडकमा ढुंगा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । उनले पहिरो पन्छाएर सडक सञ्चालन गराउन डोजर र जनशक्ति परिचालन गरिएको बताए ।
त्यसैगरी, हेटौँडा-काठमाडौं जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिकाली सडक अझै सञ्चालन हुन सकेको छैन । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ ज्यामिरेमा पहिरो खस्दा शनिबार साँझबाट सो सडक अवरुद्ध भएको थियो ।
प्रहरी नायब उपरीक्षक बोगटीका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौंबाट हेटौँडा आउने र हेटौँडाबाट काठमाडौं जाने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
पहिरो पन्छाउने कार्य भइरहे पनि निरन्तर वर्षाका कारण माटो भिजेको र ढुंगामाटो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
सडक सञ्चालन गराउन समय लाग्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।