काठमाडौँ । प्रवर्तन निर्देशनालय (ईडी)ले भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनका पति व्यवसायी राज कुन्द्राविरुद्ध ठूलो कारबाही गरेको छ । बिहीबार ईडीले शिल्पा शेट्टी र राज कुन्द्राको डेढ अर्ब बढिको सम्पत्ति जफत गरेको छ । ईडीले ६६ सय करोड भारतीय रूपैयाँको बिटक्वाइन पोन्जी ठगीको मुद्दामा यो कारबाही गरेको हो।
प्रवर्तन निर्देशनालयले बिहीबार ईडीले एक अर्ब ५६ करोड ८० लाख रूपैयाँ (करिब ९८ करोड भारतीय रुपैयाँ)को सम्पत्ति जफत गरेको छ । जसमा अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको पुनेको बंगला र इक्विटी शेयर पनि समावेश छ। उनीहरूमाथि बिटक्वाइनको प्रयोग मार्फत लगानीकर्ताहरूलाई ठगी गरेको आरोप रहेको छ ।
भारतीय संचारमाध्यमका अनुसार ईडीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जफत गरिएका सम्पत्तिमध्ये शिल्पा शेट्टीको नाममा रहेको मुम्बईको जुहूमा रहेको एउटा फ्ल्याट र राज कुन्द्राको नाममा रहेको पुणेमा रहेको बंगला पनि समावेश छ। यसबाहेक जफत गरिएको सम्पत्तिमा इक्विटी शेयर पनि समावेश छ । विज्ञप्तिमा थप भनिएको छ,’करिब ९७.७९ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गर्न मनी लान्ड्रिंग ऐन (पीएमएलए) को प्रावधान अन्तर्गत एक अस्थायी संलग्न आदेश जारी गरिएको छ।’
ईडीले आरोपीहरूमाथि लगानीकर्ताहरूलाई धोका दिएर अस्पष्ट अनलाइन वालेटहरूमा अवैध रूपमा प्राप्त बिटक्वाइनहरू लुकाएको आरोप लगाएको छ । शिल्पा शेट्टी बलिउडकी चर्चित अभिनेत्री हुन् । उनका श्रीमान् राज कुन्द्रा पनि फिल्मी दुनियाँमा प्रवेश गरिसकेका छन् । राज कुन्द्राले गत वर्ष फिल्म ‘ग्त्टढ’ बाट बलिउडमा डेब्यु गरेका थिए ।
एजेन्सीको सहयोगमा ।