बारम्बार हिंसात्मक घटना थेग्न नसक्दा गृहमन्त्रीको राजीनामा

0 Shares

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा कम्तीमा १९ जनाको मृत्युसँगै सयौं घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । गृह मन्त्रालय सम्हालेको झन्डै १३ महिनापछि उनले राजीनामा दिएका हुन् ।

जेनजी युवाको आन्दोलन हिंसात्मक बनेसँगै नेपाली कांग्रेसका नेताहरूले गृहमन्त्री लेखकलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन दबाब दिएका थिन् । यसअघि गत चैत १५ गते भएको राजावादी आन्दोलन हिंसात्मक हुँदै दुई जनाको मृत्यु हुँदा उनको राजीनामा माग भएको थियो ।

जेनजीले देशमा भएको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन गरेको थियो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आकस्मिक रूपमा पदाधिकारीको बैठक बोलाएर आन्दोलनबारे छलफल गरेका थिए। जहाँ गृहमन्त्री लेखकसमेत सहभागी थिए ।

बैठकमा सहभागी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वगृहमन्त्रीसमेत रहेका पूर्वमहामन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले जेनजीले सोमबार गरेको प्रदर्शनमा युवाको मृत्युप्रति नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन गृहमन्त्री लेखकलाई दबाब दिएका थिए ।

नेताहरूका सुझावअनुसार उनी मन्त्रिपरिषद् बैठक सकेर राजीनामा दिने बचन गरी देउवा निवासबाट बाहिरएर बालुवाटार पुगेका थिए ।

आजको घटनापछि कांग्रेसका नेता कार्यकताले सरकारबाट बाहिरिनुपर्ने दबाब बढाएका छन् । नेता डा. शेखर कोइरालाले पनि वर्तमान सरकारको औचित्य आजबाट सकिएको बताएका छन् ।

सम्बन्धित समाचार