काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) तीनवटा प्रतिवेदन प्रस्तुत हुँदैछन्। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्। आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन। आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि सबै प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी छ। त्यसैगरि एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।
आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा।पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। हिजो उद्घाटन मन्तव्यको क्रममा पार्टी अध्यक्ष ओलीले आइतबारसम्म जसरी पनि अधिवेशन सक्नुपर्नेमा जोड दिएका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो विधान महाधिवेशनमा आफू पनि सहभागी हुन जोडबल गरेकी थिइन्। तर, एमालेले भण्डारीको पार्टी सदस्यता नै रद्द गरेपछि भण्डारीसँगै उनी पक्षीय नेता कार्यकर्ता यतिबेला रुष्ट छन्। नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेपछि भण्डारी महाधिवेशनमा सहभागी हुनबाट बञ्चित भएकी हुन्। भण्डारीले विभिन्न ढंगले महाधिवेशनका प्रतिनिधिलाई आफ्नो पक्षमा उभ्याउने प्रयास भने अहिले पनि जारी राखेकी छन्।
पार्टीको दोस्रो विधान अधिवेशनमा सहभागी हुनबाट आफूलाई वञ्चित गरिएको भन्दै भण्डारीले महाधिवेशन स्थलमै शुभकामना सन्देश बाँडेकी छन्। उनले आफ्नो चिठी अध्ययन गर्न पनि महाधिवेशनका प्रतिनिधिलाई आग्रह गरेकी छन्।