‘प्रधानमन्त्री ओलीको चीन भ्रमणले देशको प्रतिष्ठा बढेको छ’

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि परराष्ट्र सचिव अमृतबहादुर राईले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र भ्रमण उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधामन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीलाई जानकारी दिँदै भ्रमण टोलीमा सँगै रहेका सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीको भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिई सो संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नाका साथै त्यसमार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन गरेका थिए ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भदौ १४ गते चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेका मन्त्रालयले जनाएको छ ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको सचिव राईले बताए ।

प्रधानमन्त्री ओलीले शांघाई सहयोग संगठनको शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गरेका थिए ।

सम्बन्धित समाचार