काठमाडौं । शिक्षा र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभा सांसदमा पेस भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले भूमिसम्बन्धी विधेयकको प्रतिवेदन पेश गरेकी हुन् ।
विधेयकमा प्रचलित कानूनबमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति प्राप्त कम्पनीहरुले हदभित्रको जग्गा बिकास गरि घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरि बिक्रि गर्न सक्ने व्यवस्था उल्लेख गरिएको उनले बताए । त्यस्तै, भूमिहिन, सुकुम्वासी, अव्यवस्थीत बसोवासीलाई व्यवस्थीत गर्नसमेत कानूनी व्यवस्थाका साथ विधेयकलाई अघि बढाइएको सभापति थापाले जानकारी दिए ।
यसअघि बिहिबार बसेको समिति बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । विधेयकमा माओवादी र रास्वपा सांसदहरुले असहमति जनाएका थिए । त्यसैगरी, विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । बैठकमा शिक्षा समितिका सभापति अम्मर बहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् ।समितिले सरोकारवालाहरुको माग, सरकारले शिक्षकहरुसंग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए ।
सभापति थापाले विद्यालय शिक्षाका क्षेत्रमा रहेका बिषयलाई नविनता दिनका लागि अधिकतम प्रयास गरेको उनको भनाइ छ । उनले विद्यार्थीको शिक्षा पाउने अवसरबाट बञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको पनि धारणा राखे ।
सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दवाव आएपनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दवावलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गर्न सफल भएको जिकिर गरे ।