काठमाडौं । सिन्धुपाल्चोकमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका-४ चतुरे टोल बस्ने ५० वर्षीय प्रेमबहादुर श्रेष्ठलाई प्रहरीले नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ गरेको हो। डिएसपी माधवराज खरेलका अनुसार पक्राउ परेका प्रेमबहादुरले नाबालिकामाथि ९ महिनायता विभिन्न समयमा बलात्कार गरेका थिए।
पीडित नाबालिकाले यस घटनाबारे प्रहरी वा परिवारलाई जानकारी गराएकी थिइनन्। नाबालिकाले पनि गर्भवती भएकोबारे वास्ता नगरेको र परिवारले पनि ध्यान नदिएको प्रहरीको भनाइ छ।
मंगलबार बालिकालाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा उनले बच्चालाई जन्म दिइन्। सुत्केरी गराउने बेलामा चिकित्सकहरूले आमाको उमेरमा शंका गरेका थिए। नाबालिका हुन सक्ने देखेर चिकित्सकहरूले प्रहरीलाई खबर गरेका थिए।
पक्राउ परेका प्रेमबहादुरमाथि प्रहरीले जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ।