काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र देखिएको मत भेद चिर्दै सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्नु पर्ने बताएका छन् ।
आदर्श कोतवाल गाँउपालिकामा पार्टीले आयोजना गरेको संवाद कार्यक्रममा उनले पार्टीभित्रको मत भेद अन्त्य गर्दै जनताको अवस्था बदल्ने गरी काम गर्नु पर्ने आवश्यकता रहेको दाबी गरेका हुन् ।
उनले पार्टीको आगामी महासमितिको बैठकमा पार्टीको भावी कार्यदिशा, नीति तय गर्दै पार्टीलाई नयाँ शिराबाट अघि बढाइने बताए । उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले कसरी जनतामुखी काम गर्ने भन्ने विषयमा पनि बहस हुने जानकारी दिए ।
महामन्त्री थापाले मधेसमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । “मधेसमा जनसंख्या बढ्दो छ भने खाद्यान्न उत्पादनलगायतका क्षेत्रमा पनि ध्यान दिन जरुरी छ,” उनले भने ।
त्यस अवसरमा स्थानीयहरुले महामन्त्री थापा समक्ष पालिकाले भोग्दै आएका समस्या अवगत गराएका थिए । उनी मेचीदेखि महाकालीसम्मको ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा बारा पुगेका हुन् ।