स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन भनेको के हो ? यस प्रकारको मूल्यांकनका विषय क्षेत्र उल्लेख गर्नुहोस् ।
स्थानीय तहको विकास तथा सेवा प्रवाहको प्रक्रिया र उपलब्धि सम्बन्धमा स्थानीय तह स्वयम्बाट लेखाजोखा गर्ने पद्धतिलाई स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन भनिन्छ ।
यसलाई अङ्ग्रेजी अनुवादको र्सक्षिप्त रूपमा ‘लिजा’ बाटसमेत चिन्ने गरिन्छ । लिजा पद्धतिमा स्थानीय तह, जिल्ला समन्वय समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यगत तथा प्रणालीगत सम्बन्ध रहन्छ ।
नेपालमा स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन कार्यका लागि मन्त्रालयले यससम्बन्धी कार्यविधि जारी गर्नुका साथै विद्युतीय प्रणालीबाट मूल्यांकन कार्य गरी नतिजाको खुलासा गर्न लिजा पोर्टल स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
लिजाका विषय क्षेत्र
शासकीय प्रबन्ध,
संगठन तथा प्रशासन,
वार्षिक बजेट तथा योजना व्यवस्थापन,
वित्तीय एवं आर्थिक व्यवस्थापन,
सार्वजनिक सेवा प्रवाह,
न्यायिक कार्यसम्पादन,
भौतिक पूर्वाधार,
सामाजिक समावेशीकरण,
वातावरण संरक्षण तथा विपत् व्यवस्थापन,
सहकार्य र समन्वय ।
यसरी लिजा कार्यविधिले उल्लिखित १० विषय क्षेत्र पहिचान गरेको छ । यी विषय क्षेत्रअन्तर्गत निर्माण गरिएका सूचकको आधारमा संस्थागत क्षमता स्वमूल्यांकन हुने गर्छ ।