आईसीसी यू-१९ विश्वकप : भारतसँग भिड्दै नेपाल

0 Shares

काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार भारतसँग खेल्ने भएको छ ।

दक्षिण अफ्रिकामा जारी खेलमा नेपालले बलियो टेष्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि १६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा बंगलादेशले २५.२ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो ।

यू-१९ विश्वकपमा नेपालको यो आठौँ सहभागिता हो । नेपालले सन् २००० मा श्रीलंकामा सम्पन्न तेस्रो संस्करणदेखि यू-१९ विश्वकपमा सहभागिता जनाउन थालेको हो ।

नेपालको टोलीमा देव खनालको कप्तानी रहेको छ । यस्तै, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द रहेका छन् ।

सम्बन्धित समाचार