काठमाडौं । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोक सडक खण्डमा वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारी साधनको आवागमन बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारी साधन आवागमन बन्द हुने जानकारी दिएको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म दैनिक छ घण्टा सो सडकमा सवारी साधन आवागमन बन्द रहने छ ।
ठिङ्गन–बगुवा सडक खण्डअन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागिएको सहायक प्रजिअ कँडेलले बताए ।
सडक बन्द हुने भएकाले हेटौँडा-काठमाडौं वा काठमाडौं-हेटौँडा यात्रा गर्नुपर्ने भए वैकल्पिक मार्ग प्रयोग गर्न उनले आग्रह गरे ।