चितवन । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा गए ।
उनी भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटनका लागि चितवन पुगेका थिए ।
उनी चितवन उत्रिँदै गर्दा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँगको सम्बन्ध र व्यवहारलाई लिएर धेरैले प्रश्न गरेका थिए । यसअघि ओली भरतपुर जाँदा कार्यक्रममा सहभागी नहुने रेनुले यस पटक फरक ढंगले प्रस्तुत भइन् ।
उनी महानगरका कर्मचारीसहितलाई लिएर प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमै पुगिन् । फूलको बुके बोकेर पुगेकी उनी र प्रधानमन्त्री ओलीबीच विमानस्थलमै सौहार्दपूर्ण वातावरणमा केही बेर कुराकानी भयो । दुवै मुस्कुराउँदै एकअर्काको हालखबर पनि सोधे ।
रेनु आफ्नो स्वागतमा आएको देखेपछि प्रधानमन्त्री पनि खुसी भए । स्वागतमा मेयर रेनु आएपछि ओलीले खबर सोधे । आफ्नो स्वागतमा आएकी रेनुलाई प्रधानमन्त्रीले सोधे, ‘छोरी सन्चै छौ ?’
सडकको उद्घाटनका क्रममा पनि विमानस्थलमा जस्तै प्रधानमन्त्री ओली र मेयर रेनुबीच सौहार्दता देखियो । जहाँ सडक उद्घाटन नै प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर रेनुले एकसाथ गरेका छन् ।
प्रधानमन्त्रीले सडकको शिलापत्र अनावरणका क्रममा राखिएको रिबन मेयर रेनुलाई तान्न लगाए । तीनैजनाले उक्त सडकको संयुक्त रुपमा उद्घाटन गर्दा दुई सरकारबीचको सुमधुर सम्बन्ध प्रकट भयो ।
प्रधानमन्त्री प्रमुख अतिथि रहेको उक्त सडक उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर रेनुले विकास निर्माणमा कसैले राजनीति गर्न नहुने बताइन् । सत्तामा रहेको एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच दूरी बढ्दै जाँदा रेनुले त्यसलाई कम गर्ने गरी सम्बोधन पनि गरेकी छन् ।
दाहालले संघीय बजेटमा यो सडक विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको उल्लेख गरिन् । सडक विस्तारका क्रममा धेरै अवरोध आएको भन्दै दाहाले त्यसको समाधानका लागि महानगरले दृढताका साथ काम गरेको पनि प्रधानमन्त्रीलाई सुनाइन् ।
मेयर रेनुले पनि आफूसामु शालीन व्यवहार देखाएपछि प्रधानमन्त्री ओलीसमेत खुसी देखिए । ओलीले विमानस्थलमै छोरी भनेर सम्बोधन गरेकी रेनुसँगै सडक उद्घाटन गर्दा दुवै दलका कार्यकर्ता पनि खुसी देखिए ।